Monday, April 28, 2025

सम्झिएकोछु मध्य रातमा

 

कैयौं पुराना वर्ष जस्तो लाग्छ
यो डराएको मन तिमी तिरै भाग्छ
देख्छ सुन्छ भन्छ
तिमीलाई आफ्नो मनमा बसाउन
तिम्रा हरेक खुशीमा रमाउन
सजाउ सारा सपनाहरू
हराउ तिमीमा
जलाउ प्रेमका टुकीहरू
पगालुँ मैन जस्ता प्रेमका भावनालाई
लाग्छ अध्यारोमा मैनको उज्यालो भेटुँ
त्यही उज्यालोमा तिम्रो प्रेम।

म खोज्दै थिए टुकिमा मट्टीतेल राख्न
एकाएक कतै मैनको उज्यालो देखे
म हडबडाए चेतशुन्य भए
टुकी खस्यो
मन धस्यो
जल्नुसम्म जल्यो बल्नुसम्म बल्यो
दनदनी
अचेत पछि चेत उठ्यो
कालो अगार खरानी भएपछि
खोलालाई किनार पराइ भएपछि
फेरि सम्झिएको छु तिमीलाई मध्यरातमा
पाउने आशा हराइ गएपछि

नपाउनु र गुमाउनुको भिन्नता खोज्दै थिए 
सपना र विपनाको अनुभव रोज्दै थिए
धुँवा र हावाको तरलता नाप्दै थिए
जीवन र प्रेमको आधार बुझ्दै थिए
टुकीमा पानी हालेर उज्यालो खोज्दै थिए
अनेकौं प्रयास खेरा गए
प्रयास गर्ने प्रयास खेरा गए
एक क्षेणको लागि बिर्सिदिए कुनै एकादेशमा
न सुन्छ न बोल्छ न चल्छ न कसैको आदेशमा
केवल चल्छ निर्जीव हावाजसरी आकाशमा
हावा मात्र होइन सारा निर्जीव वस्तुजस्तो
मुटु नभएको ढुंगा जस्तो
प्राण नभएको माटो जस्तो
हड्डी नभएको पानी जस्तो
आँखा नभएको आगो जस्तो
जवाफ नभएको प्रश्न जस्तो
खै किन फेरि सम्झिएकोछु तिमीलाई मध्यरातमा

मैनको धागो जलेर  सकिएछ
टुकीको कपडा नजलेर सकियो
फेरि अँध्यारो छाएछ
अध्यारोमा म खुशी कत्ति पनि छैन
मैनको धागोले उज्यालोको ज्योति बाल्नुपर्ने हो
अँध्यारो र उज्यालोको सहअस्तित्वको आवाज बन्नुपर्ने हो
खै किन सकियो
खै किन निभ्यो यसरी
आखामा आँसु सकिए जसरी
फुलमा सुगन्ध सकिए जसरी
हिरामा चमक सकिए जसरी
मनमा विश्वास सकिए जसरी
म सुगन्ध खोज्दैछु मन परेको पुरानो फुलमा
बिर्सिएर पनि सम्झिएकोछु तिमीलाई मध्यरातमा

मैले मैन र टुकी बिचको अन्तर बिर्सीसकेको छु
तिमी मैन हौ भने म टुकी
तिमी टुकी हौ भने म मैन
टुकी होस् या मैन अध्यारोमा उज्यालो छर्नु त हो
आफू जलेर उज्यालो पार्नु त हो
पुरानो कपडा फेरेको छु
पानी होइन मट्टीतेल भरेको छु
आजकाल हामी उही अध्यारोमा छौ
जहाँ म तिमीसँग उज्यालो खोज्न चाहन्थे
लाजलाई कतै पाखा लगाएर भन्न चाहन्थे
केही मनका कुरा
नसुनिएका कुरा
नभनिएका कुरा
नखोलिएका कुरा
आज पनि मन खोलेर भन्न चाहन्छु
मट्टीतेलले भरिएको टुकी बाल्न चाहन्छु
तिमीलाई माया गर्न चाहन्छु
तिमीसँगै फेरि कल्पनामा हराउछु
पहिला त लाज डर थियो अहिले
मैनको अगाडी टुकीको औकात सम्झन्छु
अनि तिम्रो अगाडि मेरो हैसियत सम्झन्छु
मध्यरात पर्यो कि त तिमीलाई सम्झन्छु

मैन जल्नुमा भन्दा पनि टुकी नजल्नुमा पीडा छ
नपाउनुमा भन्दा पनि माया गर्छु नभन्नुमा पीडा छ
फेरि पुरानो कुरा भनु जस्तो लाग्छ
कहिल्यै नछाड्ने सल्लेरीक हावा बनु जस्तो लाग्छ
कथा भन्दा पनि जिन्दगी तिमीसँग भोगु जस्तो लाग्छ
तालमा ताल मिलाई तिमीसँग नाँचु जस्तो लाग्छ
जिन्दगी खुलेर बाँचु जस्तो लाग्छ
हामीले जूनलाई हेरौं जूनले हामीलाई हेरोस् त्यो अन्धकारमा
तिमीलाई मनै देखी बिर्सिएर सम्झिएकोछु फेरि यो मध्यरातमा












No comments:

Post a Comment