Showing posts with label डियर स्मृति. Show all posts
Showing posts with label डियर स्मृति. Show all posts

Saturday, August 17, 2024

डियर स्मृति

 डियर स्मृति 

तिमी मेरो स्मृतिबाट  कहिल्यै टाढा हुन सकिनौं खै किन कसरी केही कुराको जवाफ छैन मसँग र तिमी जवाफ खोज्ने प्रयास पनि नगर्नु तिमी एक गुमनाम दुनियाँमा पुग्छौ म जस्तै । आफ्नै मनमा उब्जिएका ती अनेकौं प्रश्नहरूसँग लडिरहेको छु कहिले नमज्जाले पछारिन्नु कहिले केही कुराको आडमा लडखडाउदै उठ्छु कहिले हार त कहिले जित । हुन त म आफैसँग हारिरहेछु जीवनका अनेकौं हिसाब अनेकौं गणना , हिजोको म ले आजको म लाई जित्नु पर्ने रे यो कस्तो अचम्म । म त हिजोको मसँगै हारिरहेछु तर कसैलाई पत्तै नहुने आफूमा  हार्नुको मज्जा नै वेग्लै हारेको कसैले पत्तै नपाउने । मन र मस्तिष्कले आफ्नो संयमता गुमाइसके। मनले एउटा कुरा भन्छ मस्तिष्कले अर्को म कसको कुरा सुनु? बिचरा त्यो मुटुमा छालहरू उर्लिरन्छन् कुनै वर्षायामको खहरे खोला जसरी खोलाका किनारमा रहेका ती ससाना बुकुराहरू बगाएजसरी तिम्रा ती यादहरू बगाउस् जस्तो लाग्छ तर कहिल्यै बग्ने सकेनन् त्यो किनारमा रहेको कालो भिमकाय ढुंगा जस्तै अडिग भएर बसेका छन् ।

मुटुको हरेकपटक बेहालत उर्लिने छालहरूले एकतमासले हिर्काइरहन्छ÷झक्झक्याइरहन्छ केही लेख्नलाई तिमीलाई समर्पित गरेर । यो नाथे धड्कन कतिबेला बढ्छ कतिबेला कम हुन्छ पत्तै हुन्न । यो मात्र थाहा हुन्छ बस् यो मुटुमा छाल उर्लिरहन्छ तिमीलाई मेरो निर्दयी संसारमा बगाउनलाई । 



अचेल घरिघरि तिम्रा तस्बिरहरू हेरिरहनुपर्ने कुलतमा फसेको छु म । तस्बिरहरू नहेरेको दिन आफैलाई आफू जस्तो  देख्दिनँ  । यसरी सिक बनाउँछ कि मेरो ब्याट्री सकिरहने मोबाइल चार्ज गरिरहनपर्छ  ।



खै कहाँबाट म जस्तो रङहीन मान्छेलाई रङ्गिन बन्न मन लागेर आयो कुनै पत्तो छैन । जबदेखि तिमीसङ संवाद गर्न थालेँ,  तबदेखि रहरहरूको सुकेका पातहरू पनि हरियो भएर मुस्कुराउन थाले अनायसै । ओइलाएका सपनाहरू यतिकै बिउँझिन थाले, सताउन थाले, हसाउन थाले । अँ साँच्चि ! मैले आफूलाई आफ्नो वास्तविक ठेगानामा पाउन छोडेको छु अचेल ।



एउटा बेनाम संसार ! जहाँ तिमी हुन्छौ र म हुन्छु । तर कहाँ छु पत्तो पाउँदिन  । मान्छेसङ समयले कस्तो अचम्मको खेल खेलिरहन्छ हगि ? छुटाउन पर्ने मान्छेलाई भेटाइदिन्छ जसको अगाडि असमानताको बडेमानको पर्खालले दादागिरी गरिरहेको हुन्छ । भेटाउनै पर्ने मान्छेलाई छुटाइदिन्छ जसको अगाडि सीधा बाटो बाहेक  केही हँुदैन ।



अचेल त यस्तो लाग्छ, हामीलाई कुनै समयमा परिस्थिति र परिवेशले छुटाएको थियो, फरक बनाएको थियो, अधुरो बनाएको थियो । हामीलाई जुन कुराहरू पूरा गर्नलाई फेरी समयले भेट गराएको छ । नत्र यति छोटो समयमा आत्मियताको डोरी यति लामो बाटिने थिएन । साँच्चै ! आफ्नै चेतनाले काम गर्दैन अचेल । म सँधै अराजक संसारमा तिमीबाट, तिम्रो सौन्दर्यबाट, चेतनाबाट शासित भइरहन्छु । भइरहन रहर पनि लाग्छ । तिमीसँग एकदिन पनि बोलिन भने छट्पटाहटको भारीले थिचिरहन्छ सधैं । अरूलाई मन नपर्ने कुराहरू मलाई पनि मन पर्दैन थियो । जस्तैः  अरूलाई मन नपर्ने काँडा, फोहोरको थुप्रो, उराठपन सबैरूसबै मलाई पनि मन पर्दैन थियो तर अचेल हरेक कुरूप चीजहरू पनि सुन्दर देखाइदिन्छ यो आँखाले जब तिमीलाई अनुभूत गरेर हेर्छु त्यहाँ । 



म हावासँग संवाद गर्छु अचेल । हावाले तिम्रो अज्ञात सुवास उडाएर ल्याए जस्तो लाग्छ । बादलहरूले तिम्रो आकृति बनाइरहन्छ आकाशको छातीमा । त्यो आकाशको छाती म नै हुँ जस्तो लाग्छ मलाई । खै किन हो अँध्यारोमा बढी भेटाउँछु÷महसुस गर्छु तिमीलाई । सायद, तिमीसँग मलाई एक्लै हिड्नु छ पुग्नै नसकिने जिन्दगीको अनन्त बाटोमा ।


म यसै पनि बहुलाहारकेयरलेस मान्छे । झनै अचेल यति स्टुपिड भएको छु कि ! एक्लै–एक्लै तिमीलाई सम्झेर फिस्स–फिस्स हाँस्छु । सानोसानो कुराहरूले पनि बडेमानको खुसीहरू बोकेर ल्याइदिन्छ । सायद, त्यो मेरो भ्रम हो । तिमीले नै त भनेकी हौ नि अक्सर खुसीहरू भ्रम नै हुन् भनेर । म चिच्याउँछु÷कराउँछु एक्लै । मलाई थाहा छ, हामीसँग मिल्ने कुराहरू कै छैनन् । तिमी एउटा बाटोमा सुगन्धसहितको फूल रोप्दै हिँडिरहेको मान्छे । म फूलहरूको बिरुवा रोप्न नजानेर अलमलिइरहेको मान्छे । हैसियत पनि मिल्दैन हाम्रो । फेरि यो समाज यति अग्लो भएर उभिएको छ कि जसलाई मैले क्रस गर्न खोज्नु असम्भव नै हो । मूर्खता हो मेरो । तर के पुतलीले जल्छु भनेर थाहा पाउँदा पाउँदै पनि बत्ती रोज्नु गलत हो र ?



मलाई प्रश्न गर्न मन छ, यो समाजसँग । यो परिपाटीसँग । यो बेहालत खित्का छाडिरहने मान्यतासँग । मैले हिँड्नै पर्ने बाटाहरू यति फराकिला छन् कि थाक्न सक्छन् कुनैदिन पाइतालाहरू गन्तव्यमा नपुगिकनै । तर मलाई यसमा पछुतो लाग्ने छैन । आखेरी बाटो कहिले पो टुङ्गिन्छ र ! पछुतो त आफैंदेखि लाग्छ । किन मैले तिमीलाई भूगोल फरक भएपछि भेटेँ ? दुनियाँ फरक भएपछि भेटेँ ?  तै पनि मलाई यो संसारमा हराउनु छ जहाँ तिमी र म नै खुसीको खेती गर्न पाऊँ । मेरा काँचा हातमा तिम्रो शालीन औँलाको सहारा मिलोस् । मेरो बेमतलबी आँखाले तिम्रो आँखामा प्रेमको बिरुवा रोपोस् । मेरो ओंठले तिम्रो ओंठमा जीवनकै सुन्दर रङ भरोस् । यो दुनियाँभन्दा पर बसेर के तिमी मेरो हात समाउन सक्छौ ? के तिमी पनि मेरो आँखामा सपना देख्न सक्छौ ? के तिमी पनि मेरो ओठमा रङ भर्न सक्छौ ? 



यी यावत प्रश्नहरू बोकेर आज तिमीबाट आफै दूर हुँदैछु । न बोल्ने छु, न इत्रिने छु । तिमी ढुक्क हुनु न सताउने छु, न जिस्काउने छु ।  आजबाट एउटा एकान्तिक संसारमा प्रवेश गर्दैछु तरै पनि म अपवादमा रहेर तिमीलाई प्रेम गर्नेछु ।